Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

इराकबाट अमेरिकी सेना पूकायमैर्ण रूपमा बाहिरियो, तर चिन्ता

इराकबाट अमेरिकी सेना पूकायमैर्ण रूपमा बाहिरियो, तर चिन्ता

काठमाडौँ : अमेरिकाले इराकमा रहेका आफ्ना अन्तिम सैनिक पनि फिर्ता लगेको छ। उत्तरी इराकको अर्धस्वायत्त कुर्द क्षेत्रमा रहेको एरबिलस्थित हवाई अड्डाबाट अन्तिम अमेरिकी सैनिक र सैन्य उपकरण बाहिरिएसँगै इराकमा जारी इस्लामिक स्टेट (आईएस) विरुद्ध अमेरिकाको १२ वर्ष लामो सैन्य अभियान औपचारिक रूपमा सकिएको छ।
अमेरिका र इराकबीच दुई वर्षअघि भएको सहमतिअनुसार अमेरिकी नेतृत्वको गठबन्धनको सैन्य मिसन अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको थियो। पछिल्लो समय आईएस आफ्नो पुरानो क्षेत्रीय नियन्त्रण गुमाएर मुख्यतः साना ‘स्लीपर सेल’मा सीमित भएपछि इराकी सुरक्षा बललाई देशको सुरक्षा जिम्मेवारी हस्तान्तरण गरिएको हो। अमेरिकी सैनिक फिर्ता भए पनि वासिङ्टनले इराकलाई लक्षित तालिम र गुप्तचर सहयोग भने जारी राख्ने जनाएको छ।अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता सीन पार्नेलले एरबिलबाट अमेरिकी सैनिक र उपकरणको ‘व्यवस्थित प्रस्थान’ भएको बताए। उनका अनुसार यो १२ वर्ष लामो अभियानको अन्त्य हो, जसले आईएसलाई इराकको त्यस क्षेत्रमा संगठित सैन्य शक्तिका रूपमा पराजित गर्न योगदान गरेको थियो। अब सुरक्षा जिम्मेवारी इराकी नेतृत्वमा रहनेछ र अमेरिका–इराक सम्बन्ध सामान्य द्विपक्षीय सुरक्षा सहकार्यतर्फ जानेछ।

इराकी प्रधानमन्त्री अली अल–जैदीले अमेरिकी सेना फिर्तीलाई देशको सार्वभौमिकता र आफ्ना सुरक्षा संस्थाको क्षमता बलियो भएको संकेतका रूपमा प्रस्तुत गरेका छन्। उनले अबको चरण इराकको सार्वभौमिकता, राष्ट्रिय सुरक्षा बलको तयारी, निर्णय प्रक्रियामा एकाधिकार र विभिन्न मुलुकसँग सन्तुलित साझेदारीमा आधारित हुने बताएका छन्।
२००३ देखि सुरु भएको लामो अमेरिकी सैन्य यात्रा

इराकबाट अमेरिकी सैनिक फिर्तीलाई केवल पछिल्लो १२ वर्षको आईएसविरोधी अभियानको अन्त्यका रूपमा मात्र हेर्न सकिँदैन। यसको पृष्ठभूमि सन् २००३ मा अमेरिकाको नेतृत्वमा भएको इराक आक्रमणसम्म पुग्छ।सन् २००३ मा अमेरिकी नेतृत्वको सेनाले तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको सरकार ढालेको थियो। त्यसपछि लामो समयसम्म अमेरिकी सेना इराकमा रह्यो। सन् २०११ को अन्त्यमा अमेरिकी सैनिक फिर्ता भएका थिए।तर त्यसको करिब तीन वर्षपछि आईएसले इराक र सिरियामा तीव्र रूपमा आफ्नो प्रभाव विस्तार गरेपछि अमेरिकी नेतृत्वको सैन्य गठबन्धन फेरि इराक फर्कियो। आईएसले इराकको ठूलो भूभाग कब्जा गरेपछि इराकी सरकारले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनसँग सहयोग मागेको थियो।

आईएसको क्षेत्रीय संगठन ‘खलिफा’ सन् २०१७ सम्ममा पराजित भयो। त्यसपछि संगठनको ठूलो भूभागमाथिको नियन्त्रण समाप्त भए पनि त्यसका लडाकुहरू साना समूहमा विभाजित भएर ग्रामीण तथा दुर्गम क्षेत्रमा सक्रिय रहँदै आएका छन्। यही कारण अमेरिकी सैनिकको औपचारिक मिसन समाप्त भए पनि आईएसको खतरा पूर्ण रूपमा समाप्त भएको छैन।अमेरिका र इराकले सन् २०२४ मा सैन्य गठबन्धनको मिसन क्रमशः अन्त्य गर्ने सहमति गरेका थिए। गत वर्ष नै अमेरिकी सैनिकले इराकका अधिकांश आधार शिविर छाडिसकेका थिए। त्यसपछि केही सय अमेरिकी सैनिक मात्र उत्तरी कुर्द क्षेत्रमा बाँकी थिए।
कुर्द क्षेत्रमा सुरक्षा चिन्ता

अमेरिकी सैनिक फिर्तीलाई बगदादले राष्ट्रिय सार्वभौमिकताको उपलब्धिका रूपमा प्रस्तुत गरे पनि इराकको कुर्द क्षेत्रमा भने सुरक्षा चिन्ता देखिएको छ। विशेषगरी अमेरिकी हवाई सुरक्षा प्रणालीसमेत हटाइएपछि कुर्द अधिकारीहरूले आफ्नो क्षेत्रको सुरक्षा क्षमताबारे प्रश्न उठाएका छन्। कुर्द क्षेत्रीय सरकारका अनुसार हालैको अमेरिका–इरान युद्धका क्रममा यस क्षेत्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट १ हजारभन्दा बढी आक्रमण भएका थिए।अमेरिकी सुरक्षा हटेपछि इरानसमर्थित सशस्त्र समूह वा आईएसका अवशेषले नयाँ अवसर पाउन सक्ने चिन्ता स्थानीय अधिकारीहरूले व्यक्त गरेका छन्। अब अमेरिकी सैनिक फिर्तीपछि इराकी सुरक्षा बलले आईएसको सम्भावित पुनरुत्थान र इरानसमर्थित समूहको प्रभाव दुवै व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ।
यसैबीच अमेरिकी हवाई तथा गुप्तचर क्षमताको केही भूमिका इराकी सुरक्षा संरचनाले सम्हाल्नुपर्नेछ। अमेरिकी सेना पूर्ण रूपमा बाहिरिए पनि दुई देशबीचको सुरक्षा सम्बन्ध भने समाप्त भएको छैन। तालिम, गुप्तचर सहयोग, सैन्य सहायता तथा अन्य द्विपक्षीय सुरक्षा सहकार्य जारी रहने अमेरिकी पक्षले जनाएको छ।
इरानसमर्थित मिलिसिया अब मुख्य चुनौती

अमेरिकी सेना फिर्ता भएसँगै इराकभित्र अर्को जटिल प्रश्न उठेको छ : अब इरानसँग नजिक रहेका शक्तिशाली सशस्त्र मिलिसियाको भविष्य के हुन्छ ? इराक सरकारले गैरराज्य सशस्त्र समूहलाई निशस्त्र बनाउने प्रयास गर्दै आएको छ। सुरुमा अमेरिकी सेना फिर्तीको समयसीमासँगै मिलिसियाका हतियार पनि राज्यको नियन्त्रणमा ल्याउने लक्ष्य राखिएको थियो।तर सबैभन्दा प्रभावशाली इरानसमर्थित समूहहरूले निशस्त्रीकरण अस्वीकार गरेका छन् वा त्यसका लागि सरकारलाई स्वीकार गर्न कठिन हुने सर्त अघि सारेका छन्। केही कम प्रभावशाली समूहले भने हतियार बुझाउन सहमति जनाएका छन्।

सरकारले मिलिसिया निशस्त्रीकरणका लागि तोकेको समयसीमा पछि सारेर जुन २०२७ पुर्‍याएको छ। यसले अमेरिकी सैनिक फिर्ती र मिलिसिया नियन्त्रणबीच अपेक्षित तालमेल हुन नसकेको देखाउँछ।इराकका शक्तिशाली इरानसमर्थित समूहहरूले अमेरिकी सेना फिर्तीलाई आफ्नो विजयका रूपमा व्याख्या गरेका छन्। कतिपय मिलिसिया नेताहरूले अमेरिकी सैनिकलाई ‘अतिक्रमणकारी शक्ति’ भन्दै उनीहरूको बहिर्गमनलाई इराकको पूर्ण सार्वभौमिकताको सुरुवात बताएका छन्।तर त्यस्ता समूहका वक्तव्यले अर्को समस्या पनि देखाएका छन्। अमेरिकी सेना बाहिरिएपछि इराकी सरकारले आफ्नै देशका शक्तिशाली सशस्त्र समूहलाई राज्यको नियन्त्रणमा ल्याउन सक्छ कि सक्दैन भन्ने प्रश्न अझै अनुत्तरित छ।

इरानको प्रभावबारे बहस

अमेरिकी सेना फिर्तीको क्षेत्रीय प्रभाव इराकको सीमाभन्दा बाहिर पनि पर्ने देखिन्छ। इरानले लामो समयदेखि इराकका विभिन्न राजनीतिक तथा सशस्त्र समूहसँग सम्बन्ध कायम राख्दै आएको छ। अमेरिकी सेना इराकमा रहँदा अमेरिकी उपस्थिति इरानी प्रभावलाई सन्तुलन गर्ने एउटा महत्वपूर्ण सुरक्षा तत्वका रूपमा हेरिन्थ्यो।स्रोतका अनुसार केही इराकी सुरक्षा विश्लेषकहरूले अमेरिकी बहिर्गमनले इरान र उसका सहयोगी समूहलाई इराकको सुरक्षा तथा राजनीतिक निर्णयमा थप प्रभाव विस्तार गर्ने अवसर दिन सक्ने बताएका छन्। तर यस्तै परिणाम निस्कन्छ भन्ने निश्चित छैन, इराकी राज्य संस्थाको क्षमता र राजनीतिक शक्ति सन्तुलनले आगामी अवस्था निर्धारण गर्नेछ।अमेरिका स्वयं भने पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति घटाउँदै एसियातर्फ रणनीतिक ध्यान बढाउने प्रयासमा छ। तर इरानसँगको जारी युद्धका कारण अमेरिकी पश्चिम एसिया नीति अझै जटिल बनेको छ। इराक यस द्वन्द्वको प्रत्यक्ष प्रभावमा पर्ने देशमध्ये एक बनेको छ। त्यहाँ इरानसमर्थित समूहले अमेरिकी सेनालाई लक्षित गरिरहेका छन् भने अमेरिकाले पनि त्यस्ता समूहका आधारमा आक्रमण गरेको छ।

अबको परीक्षा इराकी सुरक्षा बलको

अमेरिकी सैनिकको पूर्ण बहिर्गमनसँगै इराकले लामो समयपछि राष्ट्रिय सुरक्षाको सम्पूर्ण जिम्मेवारी आफ्नै सुरक्षा संयन्त्रमाथि लिनुपर्ने अवस्था आएको छ। सरकारसमक्ष एकैपटक तीनवटा मुख्य चुनौती छन् : आईएसका बाँकी स्लीपर सेल नियन्त्रण गर्नु, इरानसमर्थित शक्तिशाली मिलिसियालाई राज्यको सुरक्षा संरचनाभित्र ल्याउनु र विदेशी शक्तिबीचको द्वन्द्वमा इराकलाई पुनः रणभूमि बन्न नदिनु।

मुलुकभर उत्सव तर चिन्ता जस्ताको त्यस्तै

इराकी सरकारले अमेरिकी सेना बाहिरिनुलाई सार्वभौमिकताको नयाँ चरणका रूपमा प्रस्तुत गरेको छ। तर अमेरिकी सेना हट्नु मात्रले देशको सुरक्षा समस्या समाधान हुने छैन। आगामी महिनाहरूमा इराकी सुरक्षा बलले आईएसविरुद्धको अभियान, मिलिसियाको नियन्त्रण र बाह्य सुरक्षा दबाबलाई कसरी व्यवस्थापन गर्छ भन्ने नै अमेरिकी बहिर्गमनको वास्तविक परिणाम निर्धारण गर्ने प्रमुख विषय हुनेछ।

यस अर्थमा सेप्टेम्बर ३० को अमेरिकी सैन्य बहिर्गमन इराकमा एउटा सैन्य मिसनको अन्त्य मात्र होइन, दुई दशकभन्दा लामो विदेशी सैन्य संलग्नतापछिको नयाँ सुरक्षा व्यवस्थाको सुरुवात पनि हो। इराकले अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको अवसरलाई ‘सार्वभौमिकता दिवस’का रूपमा मनाइरहेको छ। सरकारले सेप्टेम्बर ३० देखि अक्टोबर ३ सम्म चारदिने राष्ट्रिय बिदा घोषणा गरेको छ। बगदादमा इराकी सुरक्षा तथा प्रहरी बलका सवारीसाधनलाई राष्ट्रिय झन्डा, रिबन र सजावटले सिँगारेर सडकमा परेड गराइएको थियो।

त्यसो त सुरक्षाकर्मीहरूले विजयको संकेत देखाउँदै र सवारीसाधनका हर्न बजाउँदै अमेरिकी नेतृत्वको गठबन्धनको सैन्य मिसन समाप्त भएको उत्सव मनाएका थिए। राजधानीका अतिरिक्त नजफलगायतका सहरमा पनि सुरक्षा बलले परेड निकालेका थिए। इराकी सरकारका लागि यो कार्यक्रम विदेशी सैन्य उपस्थितिको अन्त्य र देशको सुरक्षा जिम्मेवारी आफ्नै सेनाको हातमा आएको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

उत्सवका क्रममा इराकी प्रधानमन्त्री अली अल–जैदीले अमेरिकी सेना फिर्तालाई देशको सार्वभौमिकता, सुरक्षा संस्थाको सुदृढीकरण र स्वतन्त्र निर्णय क्षमताको नयाँ चरणका रूपमा व्याख्या गरेका छन्। इरानसमर्थित सशस्त्र समूहहरूले पनि अमेरिकी बहिर्गमनलाई आफ्नो विजयका रूपमा प्रस्तुत गर्दै छुट्टै जुलुस र प्रदर्शन गरेका थिए।

बगदादमा समेत त्यस्ता समूहका समर्थकहरूले आफ्ना संगठनका झन्डा तथा नेताहरूका तस्बिर बोकेर जुलुस निकालेका थिए। तर अमेरिकी सेना बाहिरिएको खुसीसँगै इरानसमर्थित मिलिसियालाई निशस्त्र बनाउने विषयमा तथा इस्लामिक स्टेटका बाँकी समूहको सम्भावित पुनरुत्थानलाई लिएर उत्तिकै चिन्ता पनि थपिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij