राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहवर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा व्यापक अनियमितता र गोरखधन्दा चलिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद अन्सारीले मेडिकल कलेजमा २५ जनाभन्दा बढी फेक फ्याकल्टी राखिएको र नक्कली प्राध्यापकहरू देखाएर पीजी सिट लिइएको आरोप लगाएका छन्।
उनले मेडिकल कलेजले नेपाली विद्यार्थीहरूसँग ३ लाख र विदेशी विद्यार्थीहरूसँग ५ लाख रुपैयाँसम्म असुल्ने गरेको र उत्तर पुस्तिकामा पूरै उत्तर लेखेर पास गराइने गरेको खुलासा गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा व्यापक अनियमितता र गोरखधन्दा चलिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा सांसद अन्सारीले मेडिकल कलेजले विद्यार्थी र बिरामीको भविष्यमाथि खेलबाड गरेको भन्दै आपत्ति जनाएका हुन्।
सांसद अन्सारीले विगत १० दिनदेखि उक्त मेडिकल कलेजमा अध्ययनरत पोस्ट–ग्रेजुएट विद्यार्थीहरू आन्दोलनरत रहेको बताए । आन्दोलनकारी विद्यार्थीहरूलाई होस्टेल खाली गर्न लगाइएको, हस्पिटलमा काम गर्न नदिएको र कलेजको गेटबाट छिर्नसमेत प्रतिबन्ध लगाइएको उनले जानकारी दिए। ‘ती विद्यार्थीहरूले नेपालको इतिहासमै पहिलो पटक मेडिकल कलेजको नाममा भइरहेको गोरख धन्दाको पर्दाफास गरेका छन्,’ उनले भने। सांसद अन्सारीले मेडिकल कलेजमा २५ जनाभन्दा बढी फेक फ्याकल्टी राखिएको आरोप लगाए ।
उनले थपे, ‘नक्कली प्राध्यापकहरू देखाएर पीजी सिट लिइएको छ। अझ अचम्मको कुरा त, चिकित्सा शिक्षा आयोगको टोली निरीक्षणमा आउँदा इमर्जेन्सी हलमा सुरक्षा गार्डहरूलाई नै बिरामी बनाएर पानी चढाउन लगाइएको थियो।’ कलेज व्यवस्थापनले नै यस्तो अनैतिक कार्य गर्न बाध्य पारेको उनको भनाइ छ।सांसद अन्सारीले मेडिकल कलेजले नेपाली विद्यार्थीहरूसँग एउटा विषय पास गराइदिने नाममा ३ लाख रुपैयाँ र विदेशी विद्यार्थीहरूसँग ५ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलासा गरे। ‘उत्तर पुस्तिकामा पूरै उत्तर लेखेर पास गराइने गोरखधन्दा त्यहाँ चलिरहेको छ। यो कस्तो शिक्षा प्रणाली हो ?’ उनले प्रश्न गरे।
उनले विगतमा सम्मानित व्यक्तिहरूले समेत सोही मेडिकल कलेजको बेडरुममा पुगेर जन्मदिनको केक काटेको र फोटो खिचाएको भन्दै आपत्ति जनाए। ‘त्यस्तो तस्बिर बाहिरिएपछि राज्यका सम्पूर्ण संरचना चाहे त्यो चिकित्सा शिक्षा आयोग होस् वा सम्बन्धित निकाय, सबै चुप लागेर बसे। कुनै पनि कारबाही हुन सकेन,’ उनले भने।सांसद अन्सारीले मन्त्री र सरकारलाई सम्बोधन गर्दै भने, ‘अहिले पनि मेरिटोक्रेसीको आधारमा भिसीहरू नियुक्त भएका छन्। म मन्त्रीज्यूलाई आग्रह गर्छु—गम्भीर भएर छानबिन गर्नुहोस्। यस्तो अवस्थामा राज्यले आफ्ना गहनाहरू अर्थात् विद्यार्थीहरूको भविष्य अन्योलमा पार्न मिल्दैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij