काठमाडौँ : राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले देशभर अविरल वर्षाका कारण क्षतिग्रस्त सडक, पुल र जनजीवन प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।सांसदहरूले दशैँ र तिहारजस्ता महान् चाडबाडको मुखमा यातायात सेवा अवरुद्ध हुँदा जनताले भोग्नुपरेको सास्तीबारे सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेका हुन् । बैठकमा सांसदहरूले भोटेकोशी र महाकाली नदीमा आएको बाढीले पारेको असरका साथै देशका विभिन्न भागमा सडक पूर्वाधार बिग्रिएको विषयलाई प्रमुखताका साथ उठाएका थिए। सांसद गोमादेवी तिमिल्सिनाले भोटेकोशीको बाढीले बगाएका कन्टेनर र मुस्ताङको कोरला नाकामा अड्किएका मालवाहक सवारी साधनबारे सरकारको ध्यानाकर्षण गराउँदै बाटो मर्मत गरी व्यापारीहरूलाई राहत दिन माग गरिन्।
त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनीमा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा ५० हजारभन्दा बढी नागरिक आवतजावतबाट वञ्चित भएको भन्दै सांसद जगतबहादुर पार्कीले सो पुल तत्काल पुनर्निर्माण गर्न माग गरे।पूर्वाधारका विषयमा बोल्दै सांसद नरबहादुर विष्टले सात वर्षदेखि बड्डीचौर-खोलीघाँटे सडक अलपत्र परेको उल्लेख गर्दै ठेकेदारको लापरबाही र चाडपर्वका बेला सडक सञ्जाल अवरुद्ध हुनुको कारणबारे सरकारसँग स्पष्ट जवाफ मागे। सांसद राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी करिडोरका पुल र किसानको धानबालीमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै प्रभावितहरूका लागि तत्काल क्षतिपूर्ति प्याकेजको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्।
बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सांसद मदनकुमारी साहले कडा आपत्ति जनाइन्। उनले भारतको भूमि नेपालमा पनि मिचेको छ भनी प्रधानमन्त्री बालेन्द्र साहले दिएको भनाइ असत्य र राष्ट्रिय स्वाभिमानको विपक्षमा रहेको उल्लेख गर्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन्। सांसद सुरेशकुमार आले मगरले राष्ट्रिय सभाको कार्यसूचीमा नेपाल संवत् लेख्दा तिथि र महिनासमेत समावेश गर्नुपर्ने सुझाव दिए। साथै, उनले चाडबाडलाई मध्यनजर गर्दै भत्किएका सडकहरू द्रुत गतिमा मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij