Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

जनमत पार्टीको महाधिवेशन : उद्घाटन नहुँदै मतदान सुरु

जनमत पार्टीको महाधिवेशन : उद्घाटन नहुँदै मतदान सुरु

पर्सा : डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीको महाधिवेशन आजदेखि सुरु हुँदै छ । 

तर, पर्साको वीरगन्जमा आयोजना गरिएको महाधिवेशनको औपचारिक उद्घाटनअघि नै केन्द्रीय कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ । यसअघि असोज १० गतेदेखि महाधिवेशन सुरु हुने तय भई असोज १ गते नै उम्मेदवारी दर्ता गरिएको थियो । तर, अविरल वर्षा र बाढीपहिरोका कारण महाधिवेशन स्थगित गरिएको थियो । 
स्थगित महाधिवेशन आजदेखि सुरु भए पनि औपचारिक उद्घाटन नहुँदै मतदान प्रक्रिया अघि बढाइएको हो । चुनावी प्रक्रियामा धेरै समय लाग्ने भएकाले उद्घाटनअघि नै मतदान सुरु गरिएको उपाध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरीले जानकारी दिए । मतदान सकिएपछि मात्र महाधिवेशनको उद्घाटन सत्र सुरु हुने बताइएको छ। विभिन्न पदका लागि जम्मा ९९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परेको छ भने अन्य पदमा एकभन्दा बढीको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा एकल उम्मेदवारी परे पनि विधानअनुसार मतदान भने हुनेछ । हरेक उम्मेदवारले कुल मतको २० प्रतिशतभन्दा बढी मत ल्याउनै पर्ने व्यवस्था छ । महाधिवेशनमा करिब दुई हजार मतदाता छन् । अध्यक्षका एकल उम्मेदवार राउतले २० प्रतिशतभन्दा बढी मत ल्याएमा उनी निर्विरोध निर्वाचित हुनेछन् भने अन्य पदहरूमा प्रतिस्पर्धा हुनेछ । सात जना उपाध्यक्षका लागि १४ जना, एक जना महासचिवका लागि तीन जना र एक जना उपमहासचिवका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, सात जना सचिवका लागि १० जनाको उम्मेदवारी परेको छ । बाँकी उम्मेदवारी केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि परेको चौधरीले बताए । उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अन्सारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरीदेवी बैठाले उम्मेदवारी दिएका छन् । त्यस्तै, महासचिवमा चन्दन सिंह, ममता झा र सञ्जयकुमार यादव तथा उपमहासचिवमा निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिकले उम्मेदवारी दिएका छन् । सचिव पदमा सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेसी, हरेन्द्र चौधरी, अञ्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहको उम्मेदवारी परेको छ ।
निर्वाचनसम्बन्धी निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित हुनेछन् । बाँकी ५१ सिटमा समावेशी ढङ्गबाट मनोनीत गरिने जनमत पार्टीले जनाएको छ । कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता एकतिहाइ पुर्‍याउने बताइएको छ । पार्टीका अनुसार महाधिवेशनबाट बढीमा १७ जना पदाधिकारीहरू निर्वाचित हुनेछन् । जसमा एक अध्यक्ष, बढीमा सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र बढीमा सात जना सचिव रहनेछन् । निर्वाचित हुन नसकेका वा रिक्त पदहरूमा पार्टी अध्यक्षले मनोनयन गर्न सक्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । साथै, कोषाध्यक्ष र प्रवक्ता पनि अध्यक्षले नै मनोनीत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij