Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्‍यो, पात्र फेरिए प्रवृत्ति फेरिएन : राजेन्द्र लिङ्देन

देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्‍यो, पात्र फेरिए प्रवृत्ति फेरिएन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो ६ महिनामा राजनीतिक पात्रहरू बदलिए पनि देशको अवस्थामा सुधार आउन नसकेको भन्दै देश ‘अँध्यारो सुरुङ’तर्फ प्रवेश गरेको टिप्पणी गरेका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई अतिथिका रूपमा सम्बोधन गर्दै लिङ्देनले राजनीतिक तरलता झन् बढेको र देश सही दिशामा जानुको सट्टा ‘लिकबाट बाहिरिएको’ बताएका हुन्।

उनले कांग्रेसको १४औँ महाधिवेशनमा आफूले दिएको भाषणसमेत स्मरण गरे। त्यसबेला ‘जनताको नजरमा सबै नेता चोर हुन्’ भनेपछि आफू विवादमा परेको उल्लेख गर्दै लिङ्देनले त्यसबेलाको जनआक्रोश र अहिलेको परिस्थितिमा खासै सुधार नआएको बताए।‘त्यसबेला आमजनतामा नेताप्रति जति वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन । योबीचमा केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो, तर देशको अवस्था झन् जटिल बनेको छ । देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन् बढेको छ । देश ठीक ठाउँमा नआएको मात्र होइन, लिकबाट बाहिर गएको छ । हिजो सरकारको विरोध गर्दा गाली आउँथ्यो भने आज सामाजिक सञ्जाल लगाइन्छ । पात्र फेरियो प्रवृत्ति फेरिएन,’ उनले भने।

लिङ्देनले पछिल्लो ६ महिनाले केवल मान्छे परिवर्तन गरेर मात्र राजनीतिक समस्या समाधान नहुने देखाएको बताए। उनले अब राजा, राजनीतिक दल र नयाँ पुस्तासहित सबैलाई समेटेर नयाँ राजनीतिक समझदारी बनाउनुपर्नेमा जोड दिए।
उनले संविधानलाई समयअनुसार सुधार गर्दै लैजानुपर्ने धारणा राखे।

‘तपाईंहरुले उत्कृष्ट भनेर ल्याउनुभएको व्यवस्था देशमा छ । संविधानमा छ । तर यो संविधान गीता, बाइबल, पुराण होइन, छुनु र चलाउनु नहुने । हिजो राम्रै सोचेर बनाउनुभयो होला । तर आज त्रुटि नै त्रुटीका चाङ भेटिएका छन् । अब नमिलेका चिजहरू मिलाएर जानुपर्छ । कमजोरी सुधारेर जानुपर्छ,’ उनले भने।निषेधको राजनीति लामो समयसम्म चल्न नसक्ने भन्दै लिङ्देनले राष्ट्रिय सहमतिको आवश्यकता औँल्याए।

‘निषेधको राजनीति लामो समयसम्म चल्दैन । राजाबाट दलहरुलाई र दलहरुले राजालाई निषेध गरे होलान् । यो निषेधको राजनीतिले देशलाई कहाँ पुर्‍यायो त्यसको बारेमा भनिराख्न पर्दैन । अहिले पनि बिग्रेको छैन । देशमा नवीन समझदारीको खाँचो छ । अब राष्ट्रिय सहमतिको खाँचो छ । कसैले नहार्ने, सिंगो देशले जित्ने सहमति निर्माण गरेर जानुपर्छ,’ उनले भने।राजनीतिक दल र नवयुवा पुस्तासम्मलाई एकै ठाउँमा राखेर निकास खोज्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij