काठमाडौँ : नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्तमान संरचनामा कांग्रेसको ठूलो लगानी रहेको बताएका छन्।काठमाडौँको खुलामञ्चमा आइतबार शुरु भएको पार्टीको १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा उनले रास्वपाको वर्तमान संरचनामा रास्वपामा गएका नेताहरू र संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको पृष्ठभूमिप्रति व्यङ्ग्यात्मक टिप्पणी गरे।
उनले रास्वपाभित्र रहेका ४० देखि ५० जना व्यक्तिहरू आफ्नो पार्टीमा प्रशिक्षण लिएर गएकोजिकिर गरे। आफूले ती व्यक्तिहरूलाई राम्रै कुरा सिकाएर पठाएको भन्दै रास्वपाको नेतृत्व र तल्लो तहका कार्यकताहरूसमेत विगतमा कांग्रेसका कार्यक्रममा सक्रिय रहने गरेको स्मरण गराए।
‘अघि रविजीले यहाँ केही साथीहरूले रास्वपामा मत दिएको प्रसङ्ग उठाउनु भयो। हामीलाई त्यसको खासै चिन्ता छैन। संसद्भित्र हेर्नुभयो भने पनि थुप्रै साथीहरू हिजो कांग्रेसकै मञ्चमा प्रशिक्षित भएर आज त्यहाँ पुगेका छन्। रास्वपाको नेतृत्वदेखि तलसम्म पनि हिजो कांग्रेसकै मञ्चमा ताली बजाएर हुर्किएका र हामीले राजनीतिक संस्कार सिकाएर पठाएका थुप्रै साथीहरू हुनुहुन्छ। त्यसैले यसमा पनि हाम्रो कुनै गुनासो छैन, राम्रा कुरा सिकाएरै पठाएका छौँ।’
रास्वपाका उपसभापतिदेखि विभिन्न तहमा रहेका नेताहरूको पृष्ठभूमि केलाउँदै थापाले उनीहरू विगतमा कांग्रेसको मञ्चमा ताली बजाएर गएका व्यक्तिहरू भएको बताए। उहाँले रास्वपाको उदय र त्यहाँ रहेका आफ्ना पूर्वकार्यकर्ताहरूप्रति काँग्रेस सचेत रहेको र यसलाई स्वाभाविक रूपमा लिएको समेत संकेत गरे।
यसअघि लामिछानेले गत निर्वाचनमा कांग्रेस नेता-कार्यकर्ताको मतसमेत पाएर अहिलेको अवस्थामा आएको बताएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij