Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेसको राजनीतिक मर्यादा :  के गर्छ, के गर्दैन ? (१७ सूचीसहित)

कांग्रेसको राजनीतिक मर्यादा :  के गर्छ, के गर्दैन ? (१७ सूचीसहित)

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनमार्फत आन्तरिक संगठन र सार्वजनिक जीवनमा व्यापक सुधार ल्याउने उद्देश्यसहित ‘के गर्नेछौँ र के गर्नेछैनौँ’ भन्ने विषयमा १७ वटा स्पष्ट क्षेत्र तोकेर नयाँ राजनीतिक मर्यादा सार्वजनिक गरेको छ। 

सभापति गगनकुमार थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा समेटिएको यस आचारसंहिताले विगतका गलत राजनीतिक अभ्यासहरू त्याग्दै पार्टीलाई नागरिकप्रति पूर्ण रूपमा जवाफदेही, पारदर्शी र लोकतान्त्रिक मूल्यमान्यतामा अडिग राख्ने विश्वास लिइएको छ ।
पहिलो सूचीका रूपमा रहेको ‘लोकतान्त्रिक मूल्य’ का सम्बन्धमा कांग्रेसले मानव अधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक मर्यादामा दृढतापूर्वक उभिने तर सत्ता, सुविधा वा तात्कालिक लाभका लागि मूल मूल्यमा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारेको छ। 

दोस्रो, ‘राजनीतिक सहकार्य’ तर्फ स्पष्ट सार्वजनिक उद्देश्य र नीतिगत आधारमा मात्र अन्य दलहरूसँग सहकार्य गरिने उल्लेख गर्दै पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्यको नाम नदिने प्रतिबद्धता जनाइएको छ।

तेस्रो, ‘निर्वाचन र जनविश्वास’ को सवालमा निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, कार्यक्रम र उम्मेदवारसहित जनविश्वास जितेर प्रतिस्पर्धा गर्ने तर मतको अंकगणितका लागि आफ्नो मौलिक पहिचान दाउमा नलगाउने नीति अघि सारिएको छ।

चौथो, ‘सार्वजनिक संवाद’ मा तथ्य, तर्क, विकल्प र कामका आधारमा स्वस्थ बहस चलाउने तर घृणा, गालीगलौज, अपमान, समग्र निन्दा, निराशा वा सस्तो लोकप्रियतालाई राजनीतिक विधि नबनाउने कांग्रेसको अठोट छ।

पाँचौँ, ‘राज्यका संस्था’ को हकमा अदालत, संवैधानिक निकाय, विश्वविद्यालय र निजामती प्रशासनको स्वतन्त्रता एवं क्षमता बलियो बनाउने तर तिनलाई दलीय भागबन्डा र राजनीतिक हस्तक्षेपको थलो बन्न नदिने उल्लेख छ। 

छैटौँ, सूचीअन्तर्गत ‘सार्वजनिक नियुक्ति’ मा समावेशितासहित योग्यता, क्षमता र इमानदारीलाई मुख्य आधार बनाउने तथा संवैधानिक पदहरूमा दुई वर्षको ‘कुलिङ अफ’ अवधि लागू गर्ने तर दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबका भरमा नियुक्ति नगर्ने नीति लिइएको छ। 

सातौँ, ‘सार्वजनिक स्रोत’ को उपयोग नागरिक निगरानीमा सार्वजनिक हितका लागि मात्र गर्ने र दल, गुट वा व्यक्तिको लाभका लागि त्यसको दुरुपयोग हुन नदिने प्रतिवद्धता छ। आठौँ,  ‘नीतिगत सदाचार’ तर्फ स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार कडाइका साथ नियन्त्रण गर्ने तथा नीतिगत निर्णयको बहानामा कसैलाई अनुचित लाभ दिन वा छानबिनबाट उम्काउन नदिने व्यवस्था गरिएको छ। 

नवौँ, सूचीमा रहेको ‘भ्रष्टाचार र न्याय’ को विषयमा जुनसुकै स्तरको नेता वा कार्यकर्तामाथि लागेको आरोपमा निष्पक्ष अनुसन्धान चल्न दिने र आफ्नै पक्षका व्यक्तिमाथि पनि समान कानुन लागू गर्ने तर पार्टीगत बचाउ, राजनीतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप कदापि नगर्ने प्रस्ट पारिएको छ।

दशौँ, ‘समावेशी अवसर’ को सन्दर्भमा महिला, युवा र वञ्चितीकरणमा परेका समुदायको नीति तथा नेतृत्वमा वास्तविक प्रभाव बढाउने तर प्रतिनिधित्वलाई केवल संख्या वा औपचारिकताको सजावटमा सीमित नगर्ने नीति अघि सारिएको छ।

एघारौँ, ‘सदस्यको अधिकार’ अन्तर्गत नीति, नेतृत्व र उम्मेदवार छनोटमा पार्टी सदस्यको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने तर उनीहरूलाई निर्देशन पालना र निर्वाचनमा भोट खसाल्ने साधनमा मात्र सीमित नराख्ने उल्लेख छ।

बाह्रौँ सूचीको ‘उम्मेदवार र जिम्मेवारी’ मा प्राथमिक निर्वाचन (प्राइमरी), योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई उम्मेदवार छनोटको आधार बनाइनेछ भने पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प बन्न दिइने छैन।

तेह्रौँ, ‘पार्टीको परिवार’ अन्तर्गत आन्दोलनका घाइते, सहिद र योगदानकर्ताको सम्मान गर्दै समान अवसरको संस्कृति बसाल्ने तर पार्टीका पदहरूलाई पारिवारिक उत्तराधिकार वा आफ्ना मान्छे सुरक्षित गर्ने माध्यम नबनाइने प्रतिबद्धता जनाइएको छ।

चौधौँ सूचीमा रहेको ‘असहमति र अनुशासन’ को हकमा आलोचना सुन्ने, निष्पक्ष सुनुवाइ गर्ने र गल्ती सच्याउने संस्कार विकास गरिनेछ भने आलोचना वा असहमतिलाई अनुशासनहीनता ठानेर आलोचकलाई शत्रुवत व्यवहार गरिने छैन।

पन्ध्रौँ, ‘अधिवेशन र सदस्यता’ तर्फ नियमित अधिवेशन, विश्वसनीय अभिलेख र स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्ने तर महाधिवेशन सार्न वा निर्वाचन परिणाम प्रभावित पार्न अन्तिम समयमा सदस्यता वितरणका नियम नबदल्ने व्यवस्था गरिएको छ। 

सोह्रौँ, ‘पार्टीको वित्त’ मा सहयोगका सबै स्रोत, आयव्यय र लेखापरीक्षण सार्वजनिक गर्ने र आर्थिक सहयोगको बदलामा कसैलाई निर्णय, ठेक्का वा नियुक्तिबाट अनुचित लाभ नदिने मर्यादा तोकिएको छ। अन्तिम तथा सत्रौँ सूचीको ‘काम र मूल्याङ्कन’ तर्फ समुदायमा गरेको काम, सार्वजनिक उत्तरदायित्व र परिणामलाई मूल्याङ्कनको मुख्य आधार बनाइनेछ भने सस्तो प्रचार, व्यक्तिगत छवि वा गुटको सेवा गरेर वास्तविक योगदानलाई ओझेलमा पार्ने प्रवृत्तिलाई पूर्णतया अस्वीकार गरिने कांग्रेसको यस राजनीतिक मर्यादामा उल्लेख छ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij