Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नारायणीको बाढीले बगाएको राइनो क्रुज निकाल्न सकस

नारायणीको बाढीले बगाएको राइनो क्रुज निकाल्न सकस

चितवन : असोज ११ गते नारायणी नदीमा आएको बाढीले बगाएको राइनो क्रुज अझै नदीबाट निकाल्न सकिएको छैन। बाढीले बगाएर करिब तीन सय मिटर तल पुर्‍याएको क्रुज नारायणी पुलमुनि पिलरमा ठोक्किएर अड्किएको थियो।

क्रुजका कारण पुलमा क्षति पुग्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवन, सडक डिभिजन कार्यालय चितवन, गैँडाकोट नगरपालिका लगायतका निकायको समन्वयमा तीन वटा क्रेन प्रयोग गरी क्रुज निकाल्ने प्रयास गरिएको थियो। तर प्रयास सफल हुन सकेन।

राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलका अनुसार क्रुजलाई पिलरबाट छुटाएर पल्टाइएको भए पनि नदीबाट बाहिर निकाल्न सकिएको छैन। अहिले पनि क्रुजको करिब ३३ प्रतिशत भाग पानीमुनि रहेको र ठूला इञ्जिनहरू पानीमा डुबेको उनले बताए।

उनका अनुसार हाल क्रुजका कारण पुलमा तत्काल क्षति पुग्ने अवस्था नरहेकाले पानीको सतह घटेपछि थप उपकरण प्रयोग गरेर निकाल्ने योजना बनाइएको छ। क्रुजलाई टुचिन लगाएर एङ्कर गाडी सुरक्षित राखिएको उनले जानकारी दिए।

ढुङ्गेलका अनुसार क्रुज बाढीले बगाएपछि सञ्चालन गर्न सकिने अवस्थामा छैन र १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। समूहगत लगानीमा सञ्चालन गरिएको परियोजनाबारे अब लगानीकर्ताबीच छलफल गरेर आगामी निर्णय लिइने उनले बताए।

क्रुजमा ३० जनाले करिब १५ करोड रुपैयाँ लगानी गरेको बताइएको छ। नेपालमा यस प्रकारको क्रुजका लागि बीमा योजना नभएकाले बीमा गर्न नसकिएको ढुङ्गेलको भनाइ छ। विपद्बाट क्षतिग्रस्त भएकाले सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको उनले बताए।

भरतपुरको काभ्रेघाटमा तटबन्धन गरेर सञ्चालनमा ल्याइएको क्रुज नदीको अवस्था असहज भएपछि नवलपरासीको गैँडाकोटबाट सञ्चालन हुँदै आएको थियो। वर्षासँगै असारदेखि क्रुज नदी किनारमै राखिएको अवस्थामा बाढीले बगाएको हो।

पर्यटन विभागबाट देवघाटदेखि गोलाघाटसम्म करिब ४० किलोमिटर जलयात्राका लागि १५० यात्रु बोक्ने अनुमति पाएको क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ। साढे दुई तलाको क्रुजमा जलयात्रासँगै खाजा, खाना तथा विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता कार्यक्रमसमेत सञ्चालन हुँदै आएका थिए।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij