काठमाडौं : छुट जग्गा दर्ताको सिफारिससहितको फाइल सम्बन्धित कार्यालयमा पठाइदिने र दर्ता प्रक्रियामा सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार वलीले छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन र दर्ता प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।घुस मागेर सेवाग्राहीलाई अनावश्यक सास्ती तथा हैरानी दिइरहेको भन्ने उजुरीपछि अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा वलीले छुट जग्गा दर्तासम्बन्धी फाइल भूमि प्रशासन कार्यालयमा पठाइदिने तथा दर्ताको काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १० लाख रुपैयाँ माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।आयोगले वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा १० लाख रुपैयाँ बिगो कायम गरेको छ।सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद तथा दफा ३ को उपदफा ९१० बमोजिम बिगो बराबर जरिवानाको सजाय मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij