काठमाडौँ : सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। बिहीबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन्।
उनले त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिए। सम्पर्कमा नआएका र प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको हकमा भने थप कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा सम्बन्धित निकायमा लेखी पठाउन समेत उनले निर्देशन दिए। साथै त्रिभुवन विश्वविद्यालयका अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई समेत प्राथमिकताका साथ अघि बढाउन उनले आग्रह गरे।
‘त्रिभुवन विश्वविद्यालयभित्रका अतिक्रमित जति पनि जग्गाहरू छन्, तिनलाई प्राथमिकतामा राखेर काम कारबाही अगाडि बढाउन अनुरोध गर्दछु,’ मन्त्री पोखरेलले भने, ‘अध्ययन बिदाको दुरुपयोग गरेर विश्वविद्यालय नफर्किएका वा सम्पर्कमा नरहेका प्राध्यापकहरूबाट भत्ता असुली र जरिवाना तिराउने कामलाई तीव्रता दिनुपर्छ। जो सम्पर्कमा आएका छैनन् र प्रक्रियामा सहयोग गरेका छैनन्, उनीहरूलाई थप कारबाहीका लागि सीआईबी तथा सम्बन्धित निकायमा लेखी पठाउने प्रतिवेदन तयार गर्न अनुरोध गर्दछु। यसका लागि एक महिनाको समयसीमा तोकौँ। एक महिनाभित्र सम्पर्कमा नआउनेहरूका लागि प्रतिवेदन तयार गरेर सीआईबी वा अन्य सम्बन्धित निकायमा पठाउन अनुरोध गर्दछु।’मन्त्री पोखरेलले अध्ययन बिदाको दुरुपयोग गरेका प्राध्यापकहरू एक महिनाको समयसीमाभित्र सम्पर्कमा नआए थप कारबाहीका लागि प्रतिवेदनसहित सीआईबीमा पठाउन जोड दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij