चितवन : गणतन्त्र दिवसको अवसरमा चितवनका प्रमुख राजनीतिक दलहरू एउटै मञ्चमा उभिएका छन् । फरक–फरक राजनीतिक विचारधारा बोकेका दलका नेताहरू गणतन्त्रको संरक्षण, संस्थागत विकास र उपलब्धिको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धतासहित एउटै कार्यक्रममा सहभागी भएका हुन् ।
जिल्ला समन्वय समिति चितवनको सभाहलमा आयोजित विशेष कार्यक्रममा जिल्लामा क्रियाशील अधिकांश राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा भ्रष्टाचार विरोधी अभियन्ता भीमबहादुर श्रेष्ठले गणतन्त्र प्राप्तिपछि नागरिकले अपेक्षित उपलब्धिको अनुभूति गर्न नसकेको टिप्पणी गरे । उनले गणतन्त्र केवल शासन व्यवस्था परिवर्तनमा सीमित हुन नहुने भन्दै यसको लाभ नागरिकको जीवनस्तरसम्म पुग्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख कल्पना सापकोटाले गणतन्त्रले नागरिकलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजनीतिक दल र कर्मचारीबीच सहकार्य र विश्वास आवश्यक रहेको धारणा राख्दै सेवा प्रवाहलाई निष्पक्ष र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा अधिकांश राजनीतिक दलका नेताहरू एउटै मञ्चमा उपस्थित भए पनि औपचारिक सम्बोधन भने नगरेका थिए । तर, उनीहरूको संयुक्त उपस्थितिलाई चितवनमा राजनीतिक सहकार्य र गणतन्त्रप्रतिको साझा प्रतिबद्धताको संकेतका रूपमा हेरिएको छ ।
यसअघि गणतन्त्र दिवसको अवसरमा भरतपुरको चौबिसकोठीबाट प्रभातफेरी निकालिएको थियो, जसमा विभिन्न दलका नेता–कार्यकर्ता, कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । नेपालमा २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । यस वर्ष चितवनमा सबै दल एउटै मञ्चमा देखिनुलाई गणतन्त्रको रक्षा र संस्थागत विकासतर्फ सकारात्मक सन्देशका रूपमा लिइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij