रत्ननगर : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो पाँच वर्षमा १३३ वटा गैंडा मरेका छन्। गैंडाको प्रमुख बासस्थानका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०८२/८३ मा मात्रै निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैंडा मरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मरेका २२ गैंडामध्ये २० वटा निकुञ्जभित्र र दुई वटा राष्ट्रिय वन क्षेत्रमा मरेका हुन्।
नेपालमा रहेका कुल गैंडामध्ये ९२ प्रतिशतभन्दा बढी चितवनमै रहेको बताइएको छ। पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा ३०, २०८०/८१ मा २१, २०७९/८० मा २३ र २०७८/७९ मा ३७ वटा गैंडा मरेका थिए।
गैंडा प्राकृतिक रूपमा बुढ्यौलीका कारण मर्नुका साथै चोरी–सिकार, आपसमा जुध्ने, घोल तथा दलदलमा फस्ने, करेन्ट लाग्ने र कहिलेकाहीँ बाघको आक्रमणबाट समेत मर्ने गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार बासस्थान व्यवस्थापनमा देखिएका समस्या तथा सीमित स्रोत–साधनका कारण गैंडा संरक्षणमा अपेक्षाअनुसारको प्रतिफल हासिल गर्न चुनौती देखिएको छ।
गैंडाको बासस्थान व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउन आवश्यक स्रोत–साधन तथा व्यवस्थापनमा सुधार गर्नुपर्ने अवस्था रहेको निकुञ्जले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij