काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीका वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म १८ देखि २८ वर्ष उमेर समूहका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था अघि सारेको छ। १५औँ महाधिवेशनका लागि तयार गरिएको निर्वाचन निर्देशिकामा प्रत्येक तहमा एक महिला र एक पुरुष युवा समावेश गर्नुपर्ने प्रावधान राखिएको जनाइएको छ।
निर्देशिकाअनुसार क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिसहित विभिन्न तहका कार्यसमितिमा युवा सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। समावेशी समूहबाट निर्वाचित हुने प्रतिनिधिमा समेत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेट्ने प्रावधान राखिएको छ। यसैगरी, श्रमिक तथा पेसागत बुद्धिजीवीको प्रतिनिधित्व पनि विभिन्न तहमा सुनिश्चित गर्ने व्यवस्था गरिएको देउवा पक्षका नेताहरूले बताएका छन्। देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। साथै, महाधिवेशनका लागि ७ लाख ८३ हजार ८३६ क्रियाशील सदस्यताको विवरण टुंग्याइएको जनाएको छ। निर्देशिकामा युवाको प्रतिनिधित्व बढाउने व्यवस्थालाई पार्टीको सांगठनिक संरचनामा समेट्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।