चितवन : देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढिरहेका बेला भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले नारायणी नदी तटबन्धन परियोजनासँग जोडिएका विगतका प्रयास र संघर्ष स्मरण गरेकी छन्।
सामाजिक सञ्जालमार्फत दाहालले आफ्नो कार्यकालको सुरुवातदेखि नै बाढीका समयमा नदी तटीय क्षेत्रका नागरिकको सुरक्षा, विपद् व्यवस्थापन, रोकथाम तथा उद्धारमा खटिनुपरेका दिनहरू सम्झिएकी हुन्।
उनले पश्चिम चितवन, विशेषगरी भरतपुर क्षेत्र नारायणी र राप्ती नदीबाट घेरिएको उल्लेख गर्दै उचित व्यवस्थापन हुँदा यी नदी वरदान बन्ने र व्यवस्थापन कमजोर हुँदा जोखिमको कारण बन्न सक्ने बताएकी छन्।
दाहालका अनुसार नारायणी नदीको दीर्घकालीन नियन्त्रणका लागि नदी नियन्त्रण कार्यालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग समन्वय गरी गुरुयोजना तयार गरिएको थियो। नारायणगढदेखि गोलाघाटसम्म करिब ३५ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणका लागि झन्डै ५ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरी पाँचवटा प्याकेजमा ठेक्का प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरेकी छन्।
परियोजना कार्यान्वयनका क्रममा सरकार परिवर्तन, भुक्तानी समस्या तथा विभिन्न प्रशासनिक अवरोध आए पनि महानगरका तर्फबाट निरन्तर समन्वय र पहल गरिएको दाहालको दाबी छ।
उनले आफ्नो कार्यकालमा सबैभन्दा गौरव लागेको योजनाबारे उल्लेख गर्दै ‘नारायणी तटबन्धन’ लाई हजारौँ नागरिकको सुरक्षा, भविष्य र भरोसासँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताएकी छन्।
दाहालका अनुसार भरतपुर–१६ र १७ को सीमाना, गोब्रेनी तथा सेतीदेवी वन क्षेत्रलगायत केही स्थानमा अझै तटबन्ध निर्माणको काम जारी छ। बाँकी काम छिट्टै सम्पन्न गरी आगामी वर्षायामअघि नदी तटीय क्षेत्रका नागरिकलाई थप सुरक्षित महसुस गराउने अवस्था बन्ने उनले अपेक्षा व्यक्त गरेकी छन्।
भरतपुरमा अघि बढेका विभिन्न ठूला परियोजनाले महानगरको विकासमा योगदान पुर्याएको उल्लेख गर्दै दाहालले विकास निरन्तर प्रक्रिया भएको र चितवनप्रतिको आफ्नो समर्पण आगामी दिनमा पनि जारी रहने बताएकी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij