चितवन : नारायणी नदीमा आएको भीषण बाढीले नारायणगढस्थित नदी किनार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। करोडौँ रुपैयाँ खर्चेर संरक्षण गरिएको नदी किनार बाढीपछि तहसनहस बनेको छ भने चितवन महोत्सव आयोजना हुने स्थलमा अहिले ढुंगा र माटो मात्रै देखिएको छ।
बाढीले नदी किनारमा माटो तथा ग्राभेल भरेर गरिएको संरक्षणसमेत बगाएपछि विभिन्न स्थानमा कटान भएको छ। ‘सि–बिच’ मोडलमा निर्माण गरिएका संरचनाले केही हदसम्म थप क्षति रोक्न भूमिका खेले पनि समग्र नदी किनार क्षेत्रको अवस्था खण्डहरजस्तै बनेको छ।
नदीको कटान निरन्तर बढ्दै गए नारायणगढ बजारसमेत जोखिममा पर्न सक्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन्। २०१९ सालदेखि यही क्षेत्रमा बस्दै आएका स्थानीय प्रभातकुमार जोशीले नारायणी किनारको संरक्षणमा तत्काल विशेष ध्यान दिनुपर्ने बताए।
‘नदीलाई यसैगरी छाड्ने हो भने अबको जोखिम किनारमा मात्रै सीमित रहँदैन, बजारतर्फ समेत बढ्न सक्छ,’ जोशीले भने।
स्थानीयले तत्कालका लागि माटो र ग्राभेल भरेर मात्रै समस्या समाधान नहुने भन्दै नदीको बहाव र कटानको प्रकृतिलाई ध्यानमा राखेर दीर्घकालीन तथा वैज्ञानिक संरक्षणको काम गर्न माग गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij