एजेन्सी : अमेरिकाले इरानसँगको तनाव बढिरहेका बेला साउदी अरेबिया र कतारमा थप दुईवटा प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियसले जनाएअनुसार यी प्रणाली दुवै देशका महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधारको सुरक्षाका लागि पठाइएका हुन् ।
साउदी अरेबियामा पठाइएको एउटा प्याट्रियट प्रणाली महत्वपूर्ण तेल पूर्वाधारको सुरक्षाका लागि र कतारमा पठाइएको अर्को प्रणाली प्राकृतिक ग्याससम्बन्धी महत्वपूर्ण संरचनाको सुरक्षाका लागि तैनाथ गरिएको बताइएको छ।
इरानमाथि अमेरिकाले पुनः ठूलो सैन्य कारबाही सुरु गरे त्यसको जवाफमा तेहरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा तथा अमेरिकी सहयोगी मुलुकका ऊर्जा पूर्वाधारलाई निशाना बनाउन सक्ने आशंकाबीच यी प्रतिरक्षा प्रणाली पठाइएको हो। रोयटर्सका अनुसार इरानले अमेरिकाबाट पुनः ठूलो सैन्य हमला भए अघिल्लाभन्दा व्यापक प्रतिक्रिया दिने तयारी गरिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको कूटनीतिक प्रयास असफल भए पुनः सैन्य कारबाही गर्ने सम्भावना खुला राखेका छन्। पछिल्लो समय अमेरिकी सैन्य गतिविधि मध्यपूर्वमा बढ्दै गएको छ।
यसअघि अगस्टमा इरानमाथि थप हमला गर्ने अमेरिकी योजनाबारे साउदी र कतारका नेताहरूले आफ्ना तेल तथा ग्यास पूर्वाधारमा इरानी प्रतिशोध हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। त्यसपछि अमेरिकाले तत्काल ठूलो सैन्य कारबाही नगरी इरानमाथि आर्थिक दबाब बढाउने रणनीति अघि बढाएको थियो।
अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति पनि विस्तार गरिरहेको छ। वाशिङ्टन पोस्टका अनुसार अमेरिकाले सम्भावित थप सैन्य कारबाहीका लागि मध्यपूर्वमा तीनवटासम्म विमानवाहक युद्धपोतसहित ठूलो नौसैनिक शक्ति पठाउने तयारी गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij