Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एमालेले ताेक्याे स्थानीय तहका अधिवेशनको मिति

एमालेले ताेक्याे स्थानीय तहका अधिवेशनको मिति

नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीको अधिवेशनको मिति तय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले वडा र पालिका अधिवेशनको मिति तय गरेको हो ।बैठकले वडा कमिटीको अधिवेशन आगामी २६ मंसिर र पालिका तहको अधिवेशन ४ पुसमा गर्ने निर्णय गरेको छ । बैठकले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।पालिका र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गरिने भएको छ । बैठकको सुरुवातमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् ।

यस्तै, मधेश प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने जैनब खातुनको निधनपछि रिक्त स्थानमा बन्दसूचीको क्रम ४० मा रहेकी नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय भएको छ ।अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णयसमेत बैठकले गरेको छ । बैठक शुक्रबार पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट