काठमाडौँ : नेपाल विज्ञापन सङ्घ (आन) ले आयोजना गरेको रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन ‘कृति इग्नाइट’ कार्यक्रममार्फत गरिएको छ।काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा अवार्ड्सको उद्घाटन गरिएको हो। कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
कृति अवार्ड्सले नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्दै आएको छ। यस वर्षको संस्करण विभिन्न व्यावसायिक तथा नियामक संस्थाको सहकार्य र समर्थनमा आयोजना हुँदैछ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डले अवार्ड्सलाई समर्थन गरेका छन्। त्यस्तै, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपाल यस वर्षदेखि कृति अवार्ड्सका सह–आयोजकका रूपमा सहभागी भएका छन्।
आयोजकका अनुसार यस वर्ष आनका गैर–सदस्यका लागि समेत अवार्ड्समा मनोनयन खुला गरिएको छ। विभिन्न व्यावसायिक संघसंस्था तथा सञ्चार क्षेत्रका संस्थाको सहभागिताले कृति अवार्ड्सलाई अझ व्यापक र समावेशी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने अडियो–भिजुअल प्रस्तुति गरिएको थियो। आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका प्रवर्द्धक एवं मिडिया एलायन्स नेपालका संस्थापक अध्यक्ष भास्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए।
१३औँ कृति अवार्ड्सका शीर्ष प्रायोजक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिवाल तथा विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए। आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गरेका थिए।
कृति अवार्ड्स २०८३ अन्तर्गत नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा उत्कृष्ट सिर्जना र योगदानलाई सम्मान गर्ने प्रक्रिया अघि बढ्ने आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij